July 18th, 2024
काठमाडौं : चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई पनि समाजवादी बनाउने भएको छ । चिनियाँ अधिकारीहरुले एआई प्रणालीहरुले मूल समाजवादी मूल्यमान्यताहरुलाई मूर्तरुप दिन सक्षम छन् कि छैनन् भनेर एआई कम्पनीहरुको ‘लार्ज ल्यांग्वेज मोडल’ हरुको परीक्षण गरिरकेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।
चीनको शक्तिशाली इन्टरनेट पर्यवेक्षक ‘साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना’ ले बाइटडान्स, अलिबाबा, मुनसट र जीरोवान एआईलगायतका ठूला प्रविधि कम्पनी र एआई स्टार्टअपहरुलाई उनीहरुको एआई मोडेलहरुको अनिवार्य सरकारी समीक्षा गराउन बाध्य बनाएको बताइएको छ । यस प्रयासमा लार्ज ल्यांग्वेज मोडलहरुले दिने उत्तरहरुको परीक्षण गर्ने स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ ।
परीक्षणको काम साइबरस्पेस एडमिनिस्ट्रेसनको देशभर रहेका स्थानीय शाखाहरुमार्फत गरिँदै आएको र यसमा एआई मोडलहरुको प्रशिक्षण डेटा र अन्य सुरक्षा प्रक्रियाहरुको समीक्षा समावेश रहेको बताइएको छ । एआई कम्पनीहरुका लागि चीनले फेब्रुअरीमा प्रकासित गरेको मार्गदर्शनले एआई समूहले राज्य शक्तिको विखण्डनलाई उक्साउने वा राष्ट्रिय एकतालाई कमजोर पार्नेलगायत मूल समाजवादी मूल्यहरुलाई उल्लङ्घन गर्ने हजारौं संवेदनशील किवर्ड र प्रश्नहरू संकलन गर्नुपर्ने निर्देशन दिएको छ । संवेदनशील किवर्डहरु साप्ताहिकरुपमा अद्यावधिक गरिरहनुपर्छ ।
मार्गदर्शनको असर चीनका एआई च्याटबट प्रयोगकर्ताहरुले देख्न सुरु गरिसकेका छन् । जुन ४ सन् १९८९ मा के भयो ? (तियानमेन स्क्वायर नरसंहारको मिति) वा राष्ट्रपति सी विन्नी द पू (इन्टरनेट मेम) जस्तो देखिन्छन्? भन्ने जस्ता संवेदनशील विषयहरुका बारेमा सोधिएका प्रश्नहरु अधिकांश चिनियाँ च्याटबटहरुले अस्वीकार गर्ने गरेका छन् । यस्ता प्रश्नमा बाइडुको ‘अर्नी च्याटबट’ ले अर्को प्रश्न गर्न भन्ने र अलिबाबाको ‘टोङ्यी क्विनवेन’ ले आफूले यो प्रश्नको जवाफ कसरी दिने भनेर अझै नसिकेको र पढाई गरिहेको भन्ने जवाफ दिने गरेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।
यता, चीनले केही समयअघि मात्रै चिनियाँ राष्ट्रपतिको राजनीतिक दर्शनमा नयाँ मोडेलमा आधारित एआई च्याटबोटलाई सार्वजनिक गरेको थियो । जसलाई नयाँ युगका लागि चिनियाँ विशेषताहरुसहितको समाजवाद भन्ने सी जिनपिङ विचारधारामा प्रशिक्षित गराइएको छ । सीको विचारधाराका साथै साइबरस्पेस प्रशासनले उपलब्ध गराएको अन्य आधिकारिक साहित्यहरुमा पनि प्रशिक्षण दिइएको छ ।









प्रतिकृया दिनुहोस्