August 1st, 2024
काठमाडौं : भारतमा एक प्रविधि सेवा प्रदायकमा भएको साइबर हमलाले करिब ३०० वटा साना स्थानीय बैंकहरुको भुक्तानी प्रणाली अस्थायीरुपमा बन्द भएको छ । रोयटर्सका अनुसार फिरौती माग्ने उदेश्यले भएको साइबर आक्रमण (र्यानसमवेयर) ले देशभरका साना बैंकहरुलाई बैंकिङ प्रविधि प्रणाली प्रदान गर्ने सी एज टेक्नोलोजीलाई असर गरेको छ ।
भारतमा भुक्तान प्रणालीको निरीक्षण गर्ने निकाय नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) ले बुधबार बेलुका विज्ञप्ति सार्वजनिक गर्दै एनपीसीआईद्वारा सञ्चालित खुद्रा भुक्तानी प्रणालीको पहुँचबाट सी एज टेक्नोलोजीलाई अस्थायीरुपमा अलग गरेको जानकारी गराएको छ । यसअवधिमा सी एजद्वारा सेवा प्राप्त बैंकका ग्राहकहरुले भुक्तानी प्रणालीको पहुँच गर्न असक्षम हुने एनपीसीआईले जनाएको छ ।
साइबर आक्रमणबाट थप ठूलो असर पर्न नदिन करिब ३०० साना बैंकहरुलाई देशको भुक्तानी नेटवर्कबाट अलग गरिएको छ । यीमध्ये धेरैजसो साना बैंकहरु रहेकाले देशको भुक्तानी प्रणालीको आकारको करिब ०.५ प्रतिशत मात्र प्रभावित हुने स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । भारतमा लगभग १५ सय सहकारी र क्षेत्रीय बैंकहरु छन् । जसमा अधिकांश ठूला शहरहरु भन्दा बाहिर सञ्चालन भइरकेका छन् । यीमध्ये केही बैंकहरु प्रभावित भएको बताइएको छ ।
एनपीसीआईले आक्रमण थप नफैलियोस् भनेर अडिट गरिरहेको पनि बताइएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) र भारतीय साइबर अधिकारीहरुले केही साता अघि मात्रै भारतीय बैंकहरुलाई सम्भावित साइबर आक्रमणहरुबाट सजग रहन चेतावनी दिएका थिए ।









प्रतिकृया दिनुहोस्