July 25th, 2024
काठमाडौं : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रति उत्साहित अमेरिकी लगानीकर्ताका लागि बुधबार सबैभन्दा खराब दिन सावित भएको छ । बुधबार नास्ड्याक स्टक एक्सचेन्जमा सूचीकृत १०० वटा ठूला गैरवित्तीय कम्पनीहरुको सूचक ‘नास्ड्याक १००’ मा भारी गिरावट आएपछि लगानीकर्ताले १० खर्ब अमेरिकी डलर सम्पति गुमाएको ब्लुमबर्गले उल्लेख गरेको छ ।
‘नास्ड्याक १००’ सूचकांक बुधबार ३.६५ प्रतिशतले घटेको थियो । उक्त गिरावट सन् २०२२ अक्टोबर महिनायताकै सबैभन्दा ठूलो गिरावट भएको ब्लुमबर्गले जनाएको छ । विशेषगरी, एआई टेक्नोलोजीमा गरिएको ठूलो लगानीबाट प्रतिफल पाउन अझै कति समय लाग्छ भन्ने प्रश्न बजारमा मडारिएपछि कम्पनीहरुमा बिक्री चाप उच्च देखिएको हो ।
बुधबार एआई प्रविधिका प्रिय एनभिडिया कर्पोरेसन, ब्रोडकम इंक र आर्म होल्डिङ्स पीएलसीको सेयर भाउमा भारी गिरावट आएको छ । मंगलबार अल्फाबेट इंकले अपेक्षा भन्दा कमजोर वित्तीय प्रतिवेदन सार्वजनिक गरेपछि प्रविधि कम्पनीहरुको सेयरमा बिक्री चाप सुरु भएको थियो । अल्फाबेटको सेयर भाउ बुधबार ५ प्रतिशत भन्दा धेरैले घटेको छ । यता, टेस्लाको सेयर भाउमा पनि १२ प्रतिशत गिरावट आएको छ ।
अहिले लगानीकर्ताको सबैभन्दा ठूलो चिन्ताको विषय लगानीमा प्रतिफल (आरओआई) रहेको छ । एआई पूर्वाधारहरुमा ठूलो खर्च गरेपनि लगानीमा प्रतिफल नपाउने सम्भावना बढेपछि लगानीकर्ताहरु निराष बनेको तथ्यांक व्यवस्थापक कम्पनी म्यापसिग्नल्सका प्रमुख लगानी रणनीतिकार एलेक यंगले बताएका छन् ।
पछिल्लो समय वाल स्ट्रीट सर्कलहरुमा एआई बबल ब्रर्स्ट हुन लागेको हल्ला पनि चलिरहेको ब्लुमबर्गले लेखेको छ । एआई बबलका कारण गत एक वर्षमा एस एन्ड पी ५०० सूचकमा ९० खर्ब डलर भ्याल्यू थपिएको छ । उक्त बबल ब्रर्स्ट हुने सम्भावना रहेको बताइएको छ । बुधबारको गिरावटले नै उक्त सुरुवातको संकेत नगरेपनि लगानीकर्ताहरुमा खतराको घण्टी भने बजाएको ब्लुमबर्गले उल्लेख गरेको छ ।









प्रतिकृया दिनुहोस्