July 10th, 2024
काठमाडौं : रिलायन्स स्पिनिङको आइपीओबारे नेपाल धितोपत्र बोर्डलाई संघीय संसदको सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेको छ । लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आइपीओ तथा वित्तीय विवरणबारे धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको हो ।
समीतिले धितोपत्र बोर्डसँग ५ प्रश्नको जवाफ मागेको हो । लेखाले बोर्डसँग ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ । समीतिले धितोपत्र बोर्डसँग रिलायन्स स्पिनिङको आइपीओ मूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ? भनेर प्रश्न गरेको छ ।
त्यस्तै, गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो, तर अहिले १ वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ । यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने भनेर लेखा समीतिले प्रश्न गरेको छ ।
बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकसँग स्वार्थ बाझिएको छ छैन, कुन–कुन संस्थागत लगानीकर्ताले यसअघि कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए, उक्त विवरण पनि लेखाले माग गरेको छ ।
साथै, रिलायन्स स्पिनिङको प्रतिसेयर आम्दानी पछिल्लो ३ वर्षमा घट्दै जानुले लगानीकर्ताको सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र बोर्डको धारणा समेत माग गरिएको छ ।









प्रतिकृया दिनुहोस्