July 10th, 2024
नेपाली पैसा
काठमाडौं : सेयर बजारमा सुधारको गतिले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २३.२५ विन्दुले बढेर २१७५.४० अंकमा आएको छ । ५ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विकास बैंकबाहेक बाँकी सबै समुहका सूचक बढेका छन् । बुधबार वाणिज्य बैंक समूहमा पनि आकर्षण देखिएको छ । एउटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
केही दिनयता समग्रमा बजार बढिरहेको छ । दैनिक खरिदबिक्री रकममा पनि वृद्धि भइरहेको देखिन्छ । आगामी दिनमा अर्थतन्त्रमा सुधार हुने प्रक्षेपणसहित लगानीकर्ताले आफ्ना नयाँ रणनीतिहरु तय गरिरहँदा सेयर बजारमा सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ । अब ठूला दलहरुको सहकार्यमा नयाँ सरकार गठन हुनेछ । यसबाट अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सहयोग पुग्ने लगानीकर्ताको बुझाई रहेको देखिन्छ ।
यस्तै, केन्द्रीय बैंकले पनि अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति तय गर्ने अनुमानहरु भइरहेका छन् । विशेषगरी नीतिगत गाँठाहरु फुकाउने र कर्जा प्रवाह बढाउने गरी मौद्रिक नीति आउने विश्लेषण गर्दै सेयर बजारमा लगानी बढाउनेक्रम सुरु भएको पाइन्छ । विस्तारै क्रेताहरु बढ्दै गएपछि नेप्से सूचकका साथमा कारोबार रकममा पनि विस्तार हुन थालेको हो ।
सेयर बजारका लागि यतिबेला मुख्य २ वटा विषय बाधाको रुपमा देखिएको छ । त्यो हो, सेयर धितो कर्जामा लगाइएको सीमा र सेयर धितो कर्जाको जोखिमभार बढी हुनु । अब मौद्रिक नीतिमार्फत यी २ बाधा फुकाइयो भने बजारले गति लिन सक्ने जानकारहरु बताउँछन् । कर्जामा अधिकतम २० करोडको सीमाले संस्थागत र ठूला लगानीकर्ता प्रभावित भएका छन् । अझ व्यक्तिगत लगानीकर्ताले १५ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था छ । संस्थाले भने अधिकतम २० करोड लिन पाउँछन् ।
यता, १२५ प्रतिशतको जोखिमभारले सबै लगानीकर्तालाई असर गरेको छ । बैंकहरु पनि सेयर बजारमा कर्जा प्रवाह गर्न उत्साहित भएका छैनन् । किनभने सेयर कर्जा प्रवह गर्दा जोखिम शीर्षकमा राखिंदा थप रकम प्रोभिजन गर्नुपर्ने हुन्छ । तर जोखिमभार कम गरिएमा वित्तीय संस्थाहरु पनि कर्जा प्रवाहमा उत्साहित हुन सक्छन् । यसबाट सेयर बजारमा उत्साह आउन सक्छ ।
यसपटक भने असार मसान्त नजिकिंदै जाँदा बजारमा भने सकारात्मक माहोल बन्दै गएको छ । सामान्यतयः मसान्त आसपासमा बिक्री चाप बढ्ने अनुमान गरिए पनि यसपटक खासै त्यस्तो देखिएको छैन । त्यसो त बजार असार दोस्रो सातासम्म निरन्तरजसो घटेको थियो । तर तेस्रो सातामा आएर भने सुधारको क्रम सुरु भएको हो ।
बजारले करिब ३ वर्षको वियरिस यात्रा पार गरेको छ । अब चक्रीय हिसाबले पनि गति परिवर्तन गर्ने बेला भएको छ । विस्तारै बजारले बुल रनका लागि प्रारम्भिक तयारी गर्न सक्ने विश्वास बढेकाले पनि लगानीकर्तामा केही उत्साह जागेको अनुमान गर्न सकिन्छ ।
पुँजी बजारलाई सबैभन्दा बढी मौद्रिक नीतिले असर गर्दै आएको छ । आगामी मौद्रिक नीति केही खुकुलो आउने गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै संकेत गरिसकेका छन् । यसैकारण पनि बजारमा लगानीकर्ताको मनोबल विस्तारै बढ्नेक्रममा लागेको अनुमान गर्न सकिन्छ ।
यता, आम लगानीकर्ताले पनि सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहका कम्पनीहरु छानेर सकेसम्म लामो समयसम्म होल्ड गर्ने हिसाबले लगानी गर्न सकेमा जोखिम कम गर्न सहयोग पुग्नेछ ।
यस दिन ३२२ कम्पनीको १ करोड ५२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हाथवे इन्भेष्टमेन्ट अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर कम्पनी परेका छन् ।









प्रतिकृया दिनुहोस्