July 9th, 2024
काठमाडौं : एक दिनको सामान्य करेक्सनपछि नेप्सेमा पुनः सुधार भएको छ । मंगलबार नेप्से सूचकका साथमा कारोबार रकम पनि बढेको हो । यस दिन नेप्से सूचक १५.७९ विन्दुले बढेर २१५२.१४ अंकमा आएको छ । ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ९ वटा समूहका सूचक बढेका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा बढीले बढेको छ । दोस्रोमा विकास बैंक समूहमा उत्साह आएको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
असार मसान्त नजिकिंदै जाँदा बजारमा भने सकारात्मक माहोल बन्दै गएको छ । सामान्यतयः मसान्त आसपासमा बिक्री चाप बढ्ने अनुमान गरिए पनि यसपटक खासै त्यस्तो देखिएको छैन । त्यसो त बजार असार दोस्रो सातासम्म निरन्तरजसो घटेको थियो । तर तेस्रो सातामा आएर भने सुधारको क्रम सुरु भएको हो ।
लामो समय थला परेको अर्थतन्त्रमा अब क्रमशः सुधार हुँदै जाने संकेत देखिएकाले पनि लगानीकर्ताको आत्मबल विस्तारै बढ्न थालेको हुन सक्छ । ठूला दलहरु मिल्दा राजनीतिक र आर्थिक मुद्दा समाधान गर्न सहज हुने विश्लेषणहरु भइरहेका छन् । यसबाट समग्र अर्थतन्त्रसहित पुँजी बजारका समस्या पनि समाधान हुने बुझाई लगानीकर्तामा देखिन्छ ।
यसैगरी, बजारले करिब ३ वर्षको वियरिस यात्रा पार गरेको छ । अब चक्रीय हिसाबले पनि गति परिवर्तन गर्ने बेला भएको छ । विस्तारै बजारले बुल रनका लागि प्रारम्भिक तयारी गर्न सक्ने विश्वास बढेकाले पनि लगानीकर्तामा केही उत्साह जागेको अनुमान गर्न सकिन्छ ।
यद्यपि, बजारको नयाँ यात्राका लागि भने विद्यमान नीतिगत अवरोध भने हट्नैपर्ने हुन्छ । केन्द्रय बैंकले सेयर धितो कर्जामा लगाएको सीमा खुला हुन जरुरी छ । यस्तै, सेयर कर्जाको जोखिमभार पनि १२५ बाट घटेर १०० प्रतिशतमा आउनुपर्ने हुन्छ ।
पुँजी बजारलाई सबैभन्दा बढी मौद्रिक नीतिले असर गर्दै आएको छ । आगामी मौद्रिक नीति केही खुकुलो आउने गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै संकेत ग रिसकेका छन् । यसैकारण पनि बजारमा लगानीकर्ताको मनोबल विस्तारै बढ्नेक्रममा लागेको अनुमान गर्न सकिन्छ ।
यस्तै, अर्थतन्त्र सुधारका लागि केही खास नीतिगत निर्णयहरु हुन सक्ने निजी क्षेत्रको बुझाई छ । यस्तै, वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटिरहेको छ । तर अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन ।
कर्जा प्रवाह सुस्त हुनु भनेको एक हिसाबले आर्थिक गतिविधिमा संकुचन आएको संकेत पनि हो । यसर्थ, अब कर्जा प्रवाह बढाउने गरी नीति आउने धेरैको अनुमान छ ।
यता, आम लगानीकर्ताले पनि सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहका कम्पनीहरु छानेर सकेसम्म लामो समयसम्म होल्ड गर्ने हिसाबले लगानी गर्न सकेमा जोखिम कम गर्न सहयोग पुग्नेछ ।
यस दिन ३१६ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रोमा नेपाल फाइनान्स र तेस्रोमा जानकी फाइनान्स परेका छन् ।
https://www.nepalipaisa.com/news-detail/71442









प्रतिकृया दिनुहोस्