मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको मदन स्मृति दिवसको कार्यक्रम एमालेको आन्तरिक जीवनमा अर्थपूर्ण प्रतीक्षाको घडी बनेको छ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको एकछत्र प्रभाव कायम रहेको एमालेमा ओलीको अनिच्छाका बावजुद पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन्।
पूर्वराष्ट्रपति भण्डारीले शनिबारको त्यही कार्यक्रममार्फत् सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उनीनिकट एमाले नेताहरूले जानकारी दिएका छन्।
मदन भण्डारी पत्नी भण्डारी एमालेमा लामो समय ओलीको निकट सहयोगीका रूपमा चिनिन्थिन्।
ओलीकै सहयोगमा दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले पति मदनको ७४ औं जन्मजयन्तीकै अवसर पारेर सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उनीनिकट नेताहरूले बताएका छन्।
‘उहाँले भोलि सक्रिय राजनीतिमा फर्कन्छु भनेर बोल्ने तयारी गर्नुभएको छ,’ एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले Mero share Bazar लाई भने, ‘उहाँले अध्यक्षलाई भेटेर सहयोग गर्नुस् भनेर आग्रह गरिसक्नु भएको छ। भोलि सार्वजनिक रूपमा उहाँले त्यही कुरा भन्ने हो।’
पछिल्लो समय भण्डारी निकट रहेका नेता थापाले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधान, ऐन, कानुन तथा पार्टी विधानले नछेक्ने बताए।
‘उहाँलाई छेक्ने तयारी भैरहेको भन्ने पनि सुनिएको छ। त्यसबारे बहस हुँदै जाला। तर, उहाँले भोलि बोल्नुहुन्छ,’ थापाले भने।









प्रतिकृया दिनुहोस्